`

भिर्नी झोलाले…. दिलाएको सफलता !

पोखरा,६ चैत – ‘आँधिखोलामा, के ल्याइदिम कोसेली भिर्नी झोलामा ।’ अहिले यो गीत नसुन्ने विरलै भेटिन्छन् । दोहोरी साँझदेखि साना–ठूलो समारोहमा यही गीत बज्ने गर्दछ । युट्युबको भ्र्असलाई आधार मान्नी हो भने पनि गीत करोड क्लबको नजिक पुगेको छ । गीत चर्चित त बन्यो नै । यसमा आवद्ध गायकगायिका, सर्जक,मोडलको व्यस्तता पनि उत्तिकै बढायो । गीतमा शिव अखेलीले लेखेको शब्दमा, कृष्ण अखेली र सरस्वती लामिछानेको आवाज रहेको छ । गीतले केही साताअघि ज्योति फिलिम्स म्युजिक अवार्डमा उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गरिसकेको छ ।
‘भिर्नी झोला’ गीतको गायिका सरस्वती लामिछाने गीतबाट नसोचेको सफलता प्राप्त गरेको बताउँछिन् । भन्छिन्, ‘यति धेरै दर्शक श्रोताको माया पाइएला भन्ने लागेको थिएन । एकदमै खुशी लागेको छ ।’ गीत हिट भइरहँदा नेपालमा हुने विभिन्न मेला महोत्सवमा योवर्ष बढी व्यस्त भइन लामिछाने । ‘जस्ले पनि भिर्नी झोला गीतकी गायिका भनेर बोलाउँदा मज्जा लाग्दो रहेछ । मेला महोत्सवहरुमा त पहिला पनि निकै जाने गर्थेँ । अहिले यो गीत आएपछि अल्लि बढी व्यस्त बनायो,’ उज्यालो अनुहार बनाउँदै सुनाइन् । विदेशको कार्यक्रमबाट अफर आएपनि कोरोना भाइरसले गर्दा ती कार्यक्रम रोकिएका छन् । तर, पनि गीतको युट्युब भ्युर्अस दिनानुदिन बढिरहँदा उनी दंग छन् । हरेक दिनजसो गीत करोड भ्युर्अस पुगो कि पुगेन भन्दै हेर्ने गर्छिन् ,उनी । उनले थुप्रै गीतहरुमा आवाज दिएपनि बढी सफल भएको गीत भने ‘भिर्नी झोला’ नै हो ।
संगीतको सुरुवात ः लामिछाने पर्वतकी चेली हुन् । पर्वत मोदीगाउँपालिका तिलाहरमा जन्मेकी उनी परिवारकी जेठी छोरी हुन् । स्कुल पढ्नेबेला देखि नै गीतसंगीतमा रुचि राख्थिन् । स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिएर थुप्रै पुरस्कार जितेको सम्झना उनमा अझै छ । त्योबेला रेडियो नेपालबाट प्रशारण हुने ‘देउराली’ कार्यक्रम उनको पे्ररणाको स्रोत थियो भने बिमाकुमारी दुराले गाएका थुपै्र गीत मेलापात, घासदाउरा गर्दा गुनगुनाउने गर्थिन् । अनि सोच्थिन, ‘म पनि बिमा दिदी जस्तै चर्चित हुन पाए..।’
उनी अझै प्रत्यक्ष दोहोरीमा माहिर छिन् । चोटिला शब्द प्रहार गरेर सवालको जवाफ दिन खप्पिस छिन् । एसएसली उर्तीणपछि पोखरा छिरेकी लामिछानेले थुप्रै दोहोरी प्रतियोगितामा भाग लिइन । उनले पहिलोपटक पर्वतको बान्द्रेबिँडीमा विमलराज क्षेत्रीसँग दोहोरी गाइन् । पहिलो सहभागितामै उनी दोस्रो भइन् । त्यसपछि धम्पुस, लेखनाथ महोत्सव, पर्वत, म्याग्दी, बागलुङ, पोखरा, स्याङजालगायत मेलामहोत्सवमा दोहोरी गाउन पुग्ने गर्थिन् । उनको दोहोरी प्रतियोगिताको सहपाटी चित्रसागर श्रेष्ठ, रामजी पौडेल थिए ।
उनले थुप्रैवर्ष दोहोरी साँझ पनि गीत गाइन् । ‘दोहोरी साँझ कलाकारको लागि पाठशाला हो । गीत गाउँछु ,केही सिक्छु भन्नेहरु दोहोरी साँझमा गाउँदा राम्रो हुन्छ,’ उनी सुझाउँछिन् । अहिले महेन्द्रपुलमा रहेको ओपन हाउस त्योबेला ‘दिपशिखा दोहोरी साँझ’ थियो । त्यहीँ उनले गीत गाउँथिन् । त्यसबेला उनको कमाइ मासिक ४ हजार रुपैयाँ थियो । त्यहाँ केहीवर्ष काम गरेपछि दोहोरी बन्द भयो । त्यसलगत्तै उनले निरमाया, बिसौनीलगायतका दोहोरीमा गीत गाइन् । ‘त्योबेला दोहोरी साँझमा गाउने भन्दा कतिले नराम्रो पनि सोच्थे, तर अहिले बिस्तारै समय परिवर्तन भएको छ,’ उनी भन्छिन् ।
एल्बम ः प्रत्यक्ष दोहोरी प्रतियोगितमा भिड्दैगर्दा उनलाई एल्बम निकाल्ने रहर पलाउन थाल्यो । हुन त, गायिका बन्ने सोंच बच्चैदेखि थियो तर प्रतियोगितामै गाएर रमाइरहेकी थिइन् । २०७० सालमा रामजी पौडेलसँगको सहकार्यमा ‘भन्न नसकेर’ बोलको पहिलो गीत बजारमा ल्याइन् । उनको स्वरको तारिफ हुँदै गयो । गीतलाई पनि मन पराइयो । त्यसलगत्तै अर्को गीत गाइन् । गायक चोलेन्द्र पौडेलसँगको सहकार्यमा ‘अलिअलि रंग छ, अलिअलि डर, चढ्यो चढ्यो जवानी ।’ यी दुबै भाका पनि दर्शक स्रोताले रुचाए । उनको सफलतालको सिँढी बिस्तारै लम्किदै गयो । ‘तीजको गीतहरु, आउ माया सरर, बाबाजीको आगनीमा, भाडा तिरम्ला, पापी मायाले, बतासे पानी, पञ्चेबाजाको गीत ‘मुस्ताङको स्याउ मिठो’लगायत थुप्रै गीतमा उनको आवाज सुन्न पाइन्छ ।
सम्मान तथा अवार्ड ः नेपाली लोक गीत एवं दोहोरीको क्षेत्रमा पु¥याएको उच्च कदर गर्दै पोखरा–१६ बाटुलेचौरद्धारा ऐतिहासिक बाटुलेचौर तीज मेला २०७५ मा विशेष सम्मान गरिएको थियो । यसअघि उनले ‘अलिअलि रंग छ, अलिअलि डर’ बोलको गीतबाट २०७० मा गोर्खाली रेडियोले आयोजना गरेको गोर्खाली अवार्डमा उत्कृष्ट नव गायिकाको अवार्ड प्राप्त गरेकी थिइन् । उनलाई सोही गीतले पनि गायिकाको रुपमा चिनाएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको सदस्य तथा महिला विभाग प्रमुख रहेकी लामिछाने संगीत क्षेत्रमा रहरले भन्दा पनि सिकेर आउनको लागि आग्रह गर्छिन् । संगीतको बजार खस्किरहेको अवस्थामा सानो संघर्षले सफलता हात नपर्ने उनको अनुभव छ । ‘संगीतमा ठूलो लगानी छ । उठाउन गाह्रो छ । गीत चल्यो भने मात्र मेला महोत्सवबाट आम्दानी हुन्छ, होइन भने यसै हराइन्छ,’ उनी भन्छिन्, ‘भाइरल बन्ने हुटहुटिले भन्दा पनि संगीतमा केही गर्छु भनेर आउन पर्छजस्तो लाग्छ । तब मात्रा संगीत पनि बच्छ, अनि योगदानको पनि कदर हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology