`

सुनसान लेकसाइड ! बन्द हुँदै होटल

पोखरा, ८ चैत – म्याग्दीको पुनहिलतिर यतिबेला लालीगुराँस राताम्य भएको छ । जाडो छल्ल बेसी झरेका मुस्ताङ्गे र मनाङ्गेहरु आफ्नै थातथलो फर्किसके । अघिल्ला वर्ष सम्झने हो भने, यतिबेला पुनहिल विदेशीले भरिभराउ हुन्थ्यो । मुस्ताङ र मनाङतिर ‘रुस्याक’ बोकेका विदेशीहरुको ताँती लाग्थ्यो । मुख्य पर्यटकीय सिजनमा व्यवसायीहरुको सक्रियता नै अर्कै हुन्थ्यो । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा पदयात्रा सकेका र जानेहरु दोहोरिलत्त हुन्थे । तर, अहिले न पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी छन् न त पदयात्रा मार्गमा नै ! पर्यटकीय सिजनको मुखैमा विश्वव्याधीको रुपमा फैलिएको कोरोना भाइसका कारण पर्यटकीय गतिविधि ठप्प छन् ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार अहिले होटल व्यवसाय ठप्पै भइसकेको छ । पर्यटकीय सिजनको मुखमा नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्दै सबै देशका आगमन प्रवेशाज्ञा समेत बन्द गर्दा यो अवस्था आएको उनले बताए । टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान )पश्चिमाञ्चलका वरिष्ठ उपाध्यक्ष सुशील पौडेका अनुसार यतिबेला पदयात्रका गतिविधि ठप्पै भएको छ ।
‘चालु अंग्रेजी वर्षमा युरोपियनहरुको बुकिङ असाध्यै राम्रो थियो तर अहिले सबै रद्द भइसक्यो’, उनले भने,‘ अहिले त हवाई उडान नै बन्द छ, क्वारेण्टाइन सर्टिफिकेट बिना त्यत्तिकै यहाँ घुम्न पनि पाइँदैन, भएकाहरु पनि आफ्नै देश फर्कँदै छन् ।’स्वीस र जर्मन डाक्टरको टोली उनको कम्पनीमार्फत मर्दी हिमाल पदयात्रा जाने तर्खरमा रहेको एउटा टोली विहीबारमात्रै स्वदेश फर्केको पनि उनले सुनाए ।
‘मेरै कम्पनीबाट उनीहरु पदयात्रा जाँदै थिए, लामोसमय नेपाल बस्ने योजना थियो’, उनले भने,‘ नेपाल आएलगत्तै उनीहरुकै देशमा कोरोना फैलियो, अनि उनीहरुले म त देशका नागरिकको उपचारमा खट्नुपर्छ भन्दै पदयात्रा रद्द गरे ।’
पोखरा आउने आन्तरिक पर्यटकहरु घट्दा फेवातालको डुगा सयरदेखि रेष्टुरेष्ट व्यवसायको हालत पनि उस्तै रहेको उनले जनाए । बजारमा मास्क, हेण्ड सेनिटाइजर, औषधी तथा अति आवश्यक दैनिक उपभोग्य वस्तु– इन्धन, खाद्यान्न आदिको कृत्रिम अभाव देखिँदा त्यसको प्रभाव होटल व्यवसायमा परेको होटल संघका अध्यक्ष विकल तुलाचनको भनाई छ । सन् २०१९ को मार्च महिनामा २२ हजार १ सय ५७ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । यसवर्ष मार्च १० सम्म भने मुस्किलले एक हजारले सो क्षेत्रको भ्रमण गरेका छन्  । सन् २०१९ को फ्रेबुअरीमा ७ हजार १ सय ५३ पर्यटक पदयात्रामा निस्किएकामा यस वर्ष उक्त महिनामा ६ हजार १९ विदेशी अन्नपूर्ण क्षेत्र पुगेका थिए । पर्यटक नै नआउँदा साहशिक पर्यटन तथा अन्य सबै गतिविधि प्रभावित बनेको छ । कोरोना भाइरसका कारण पर्यटन उद्योगमा मन्दी छाएपछि राहत प्याकेज माग गरेका उनीहरु यतिबेला भने मौन देखिएका छन् ।
‘राहत माग्ने एउटा पाटो हो, अहिले हामीमा पनि जनशक्ति र अन्य आवश्यक व्यवस्था मिलाउने दायित्व थपिएको छ’, होटल संघका अध्यक्ष तुलाचनले भने,‘हामी पनि यो संकटमा कसरी टिक्ने भन्ने उपाय खोज्दैछौँ ।’ यहाँको चाउथेमा रहेको रोयल पाल्म होटल बन्द नै भएको छ भने अन्य होटलहरुले पनि कामदार कटौति गरेका छन् । अध्यक्ष तुलाचनका अनुसार ठूला होटलमा रहेका कर्मचारीहरु संचित बिदा लिएर घर गएका छन् । साना होटलले जेनतेन आफ्नो व्यवस्थापन गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology