`

कोरोना सन्त्रास : सुरक्षित र संयमित बनौँ

कोरानो भाइरस ( कोभिड–१९) को प्रकोपबाट नागरिकलाई बचाउन सरकारले आइतबारबाट अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारले सोमबारबाट लामो दूरीका सबैखाले सवारी साधनमा प्रतिबन्ध लगाएको छ । अन्तर्रांष्ट्रिय हवाई उडान पनि आइतबारदेखि चैत १८ गतेसम्म बन्द गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई यो अवधिमा सकेसम्म घर बाहिर ननिस्कन,सुरक्षा र संयम अपनाउन आग्रह गरेका छन् ।
हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत, औषधि निर्माण तथा वितरण, फोहोर मैला संकलन, दाल चामल–नुन तेलजस्ता दैनिक उपभोग्य बस्तुको ढुवानीजस्ता कामहरु अत्यावश्य सेवा हुन् । सरकारको घोषणासँगै यीबाहेकका सबै गतिविधि बन्द हुनेछन । विश्व नै त्राहीमाम रहेको बेला सरकारले संक्रमण भइहालेमा उपचार, फैलन नदिन विशेष प्रबन्ध गरेको जानकारी दिएको छ । महाव्याधीबाट देशलाई बचाउनको लागि सरकारले चालको कदमलाई सघाउनु नागरिकको कर्तव्य हो । उपचार नै नभएको भाइरसबाट बच्ने अभियानमा नगारिकको पनि दायित्व रहन्छ । त्यसले संकटको यो घडीमा सकेसम्म घर बाहिर ननिस्कनु नै उत्तम हुन्छ ।
अर्कोतर्फ, कोरोना भाइरसको सन्त्रासले विश्वलाई नै गाँजेको बेला रोगबारे अफबाह फैलाउने काम पनि भएको छ । शनिबार मात्रै पनि अपबाह फैलाउने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संकटको बेला अपबाह फैलाउनु अपराध नै हो । यस्ता अपराधीहरुलाई कानूनको दायरामा ल्याउनुपर्छ । कोरोनाबारे सचेतना अभियानलाई तीब्र पारिनुपर्छ । यो अभियानमा नागरिक समाजले सघाउनुपर्छ । कोराना सन्त्रास व्याप्त हुँदा विदेशमा रहेका नेपालीहरु स्वदेश आउने क्रम बढेको छ । शुक्रबार र शनिबार मात्रै हजारौँ नागरिक देश फर्किएका छन् । आफ्नो देश फर्कन पाउनु नगारिकको अधिकार हो । संकटको क्षणमा उनीहरु आफ्नो मातृभूमि फर्कन पाउनुपर्छ । विदेशमा संकटमा परेका नेपालीहरुलाई स्वदेशमा फर्काउनु राज्यको दायित्व नै हो । तर, यसो भनिरहँदा उनीहरुको स्वास्थ्य अवस्थाको नजरअन्दाज गर्न भने मिल्दैन । कथंकदाचित कोही नेपालीमा संक्रमण रहेछ भने त्यसले ठूलो मानवीय संकट खडा गर्नसक्छ । अत ः यस्तो अवस्थामा उनीहरुको पूर्ण र भरपर्दो परीक्षणं हुनुपर्छ । यसका अलावा विदेशबाट फर्केका नेपालीहरुले आफ््नो दायित्ववोध गर्दै व्यक्तिगत क्वारेण्टाइनमा आफूलाई राख्नुपर्छ । यसो गरेमा परिवार र आफन्तको सुरक्षा हुन्छ । देश महामारीबाट जोगिन्छ । अमूक व्यक्तिको सानो गल्तीबाट देशले ठूलो क्षति ब्यहोर्ने वातावरण बनाउनु हुँदैन । सरकारले विदेशबाट आएका नागरिकहरुलाई सेल्फ क्वारेण्टाइनमा बस्न गरेको आग्रहको पूर्ण पालना हुनुपर्छ । पछिल्ला केही दिनयता सहरबाट नागरिकहरु गाउँ फर्केका छन् । भीडभाडभन्दा गाउँ सुरक्षित हुन्छ नै । तर, गाउँमा पनि विदेशबाट आएका व्यक्तिहरुसँग संसर्ग गर्नु हुँदैन भन्ने सचेतना फैलाउनु जरुरी देखिएको छ । सरकारले कोरोना भाइरसबारे जानकारीमूलक सन्देशहरु जारी गरिरहेको छ । संकटको यो बेला भएका सबै संयन्त्रहरु प्रयोग गरी सन्देशहरुलाई ब्यापक बनाउनुपर्छ । सम्भव भए यी सन्देशहरु मातृभाषा तथा आञ्चलिक भाषामा पनि दिइनुपर्छ । विश्व संकटमा छ । मानव जातिमाथि परेको यो संकटको मिलेर नै सामना गर्नुपर्छ । यसको लागि सरकारले गरेको अनुरोधको पूर्ण पालना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology