`

जिमेलका फोटोहरु कसरी ‘गुगल फोटोज’ मा सार्ने ?

पोखरा, ९ चैत – गुगलका इमेल सर्भिस जिमेल विश्वमा सबैभन्दा लोकपि्रय इमेल सेवा हो । जिमेलमा निःशुल्क रुपमा १५ गिगाबाइट मात्र स्पेस उपलब्ध हुन्छ । थप स्टोरेजका लागि पैसा तिर्नुपर्दछ, जुन सामान्य जिमेल प्रयोगकर्ताका लागि महंगो पर्न जान्छ । जिमेलमा आउने ठूलो साइजका फाइलहरुले इमेल ड्राइभको धेरै स्पेस ओगटिदिन्छ, जसका कारण जिमेल छिटो भरिन्छ । यदि तपाईंले जिमेलमा फोटोहरु प्राप्त गरिरहनुभयो भने जिमेलको १५ जिबी स्पेस भरिनका लागि समय लाग्दैन । त्यसैले आफ्नो जिमेलको स्पेसलाई भरिन नदिनका लागि अनावश्यक इमेलहरुलाई हटाउने तथा फोटोजस्ता ठूलो साइजका फाइलहरुको व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ ।
आफूलाई आवश्यक पर्ने तस्वीरहरु जिमेलबाट हटाएर के गर्ने ? डाउनलोड गरेर कतै हार्डड्राइभमा राख्ने भन्ने जवाफ आउन सक्दछ । तर होइन । तपाइँले जिमेलमा आएका फोटोहरु डाउनलोड गरेर कुनै हार्डड्राइभमा सारिरहनु नै पर्दैन । तपाईंले जिमेलका फोटोहरु गुगल फोटोज नामक गुगलको फोटो भण्डारण सेवा/एपमा पठाएर आफ्नो जिमेलको स्पेस खुकुलो बनाउन सक्नुहुन्छ । स्मरण रहोस् गुगलले गुगल फोटोजका लागि स्टोरेजको कुनै सीमा तोकेको छैन । अर्थात् तपाईंले गुगल फोटोजमा जति पनि तस्वीर भण्डार गर्न सक्नुहुन्छ ।
जिमेलका तस्वीरहरु गुगल फोटोजमा कसरी पठाउने ? गुगलले जिमेलका तस्वीरहरु गुगल फोटोजमा पठाएर सुरक्षित गर्ने कुनै प्रत्यक्ष विधि त दिएको छैन । यसका लागि तपाई‌ं ले केही काइदा अपनाउनु पर्ने हुन्छ र अलिकति मेहेनत पनि गर्नुपर्दछ । र, अर्को कुरा के पनि बुझ्नुहोस् भने आफ्नो जिमेलमा भएका सबै फोटोहरु स्वाट्ठै एकै पटकमा गुगल फोटोजमा सार्न पनि सकिने छैन । तपाईंले एक एक गरी फोटोहरु स्थानान्तरण गर्नुपर्नेछ । यसका लागि उल्लेखित विधि अपनाउनुहोस् :

१. कम्प्युटरमा आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस् ।

२. इनबक्समा रहेका इमेलमध्ये फोटो फाइल संलग्न भएको इमेलमा क्लिक गरी खोल्नुहोस् ।

३. त्यसपछि स्क्रोल डाउन गरी इमेलमा रहेको अट्याचमेन्ट खण्डमा जानुहोस् र त्यहाँ रहेको Drive आइकनमा क्लिक गर्नुहोस् ।

४. यो प्रक्रिया जिमेलमा रहेका हरेक फोटोहरुमा दोहोराउनुहोस् ।

५. त्यति गरिसकेपछि  photos.google.com मा गई लगइन गर्नुहोस् ।

६. त्यहाँ रहेको अपलोड बटनमा क्लिक गरी अप्सनमा रहेको Google Drive छनोट गर्नुहोस् ।

७. त्यसपछि गुगल ड्राइभमा देखिने फोटोहरुमध्ये तपाइँले गुगल फोटोजमा सार्न चाहेका तस्वीरहरु सेलेक्ट गरी अपलोड गर्नुहोस् ।

८. अपलोड कार्य सकिएसँगै पुनः गुगल ड्राइभमा आउनुहोस् र आफुले गुगल फोटोजमा अपलोड गरिसकेका तस्वीरहरु डिलिट गर्नुहोस् ।

यति गरिसकेपछि तपाइँको जिमेलमा ठाउँ ओगटिरहेका तस्वीरहरु गुगल फोटोमा गएर सुरक्षित हुनेछन् र तपाइँको जिमेलको स्पेस खुकुलो हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology