`

‘लक डाउन’को लागि तयार हौँ

नेपाल सरकारले नेपाल र चीनतर्फबा सबै सीमा नाका एकहप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले यो निर्यय गरेसँगै अब ती सीमामा आवतजावत बन्द हुनेछ । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न यो निर्णय गरेको हो । यही मेसोमा सीमा क्षेत्रमा रहेको कञ्चनपुर जिल्ला प्रशासनले आइतबार रातिदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको थियो । प्रशासनले सो समयमा अत्यावश्यक बाहेकका सेवा संचालनमा पनि रोक लगाएको छ । रोजगारको सिलसिलामा भारत गएकाहरु हुलका हुल फर्केको सन्दर्भमा प्रशासनले देखाएको सचेतता आफैमा स्वागतयोग्य थियो । सरकारले अहिले कञ्चलपुरको निर्णय पच्छ्याएजस्तो देखिए पनि यो कदमले सम्भावित दुर्घटनाबाट देशलाई बचाउने आशा पलाएको छ ।
आइतबार नै छिमेकी भारतले इतिहासमै पहिलो पटक रेल सेवा बन्द गरेको थियो भने जनता कफ्र्यु लगाइएको थियो । कोरोना भाइरस ( कोभिड–१९) को संक्रमण फैलिएको ७५ वटा जिल्लामा आउँदो चैत १८ गतेसम्म रेल सेवा बन्द गरिएको हो । भारतमा कोरोनाका कारण ७ जनाको मृत्यु भइसकेको छ । ‘लक डाउन’ गरिएका जिल्लाहरुमा अब अत्यावश्यक सेवा मात्र पाइनेछ । नेपाल सरकारले भने कोरोनाको सम्भावित संक्रमणबाट जोगिन आंशिक ‘लक डाउन’ सुरु गरेको थियो । सोमबारबाट लामो दूरीका सवारी साधन चल्ने छैनन् भने नागरिकलाई अनावश्यक रुपले भीडमा नजान र घरमै बस्न आग्रह गरिएको छ । यतिबेला देश संकट र त्रासमा छ । विदेशमा रहेका नेपालीहरु धमाधम घर आइरहेका छन् । भारतमा कोरोना फैलिएको अवस्थामा भारतीय नाका हुँदै नेपाल भित्रिएका नागरिकसँगै कोरोना पनि भित्रने त हैन भन्ने आशंका उत्पन्न भएको थियो । यो विषम परिस्थितिमा सरकारले सुरक्षाको लागि जे तयारी गरेको छ , त्यो स्वागतयोग्य छ तर आन्तरिक सुरक्षाका लागि अपनाउनुपर्ने तयारीहरु अझै अपुग देखिएका छन् । कोरोना नियन्त्रणको लागि ५० करोडको कोष बनाउने निर्णय भने गरिएको छ । सो केन्द्रीय कोषको सही र शीघ्र सदुपयोग गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।
कोरोना संन्त्रास फैलिरहँदा गण्डकी प्रदेशकै स्वास्थ्य संस्थाहरुमा डाक्टरले लगाउने सुरक्षा कवच नभएको सार्वजनिक भएको छ । डाक्टर नै सुरक्षित नभएपछि अरु कसरी सुरक्षित हुने ? यो गम्भीर विषयमा संघीय र प्रदेश सरकारले ध्यान दिनुपर्छ । जनतालाई सुरक्षित राख्ने काम सरकारकै हो ।
यतिबेला, मित्रराष्ट्र चीन र भारतले पनि कोरोना संक्रमणको सम्भावित जोखिम कम गर्न सहयोग गर्ने घोषणा गरेका छन् । चीनमा मनकारी धनाढ्य ज्याक माबाट पनि सहयोग प्राप्त हुने भएको छ । अन्य मित्रराष्ट्रहरुबाट पनि सहयोग आएको छ । नेपालले अब यी र यस्ता सहयोग लिन ढिला गर्नुहुँदैन । आफूसँग नभएका कुराहरु सहयोगस्वरुप लिन सकिन्छ । चीनले आवश्यक उपकरणहरु दिने घोषणा गरेको सन्दर्भमा हामीलाई के आश्वश्यक छन् भन्नेमा पनि स्पष्ट हुनुपर्छ । विपत्बाट साझा प्रयत्नले मात्रै बच्न सकिन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई व्यवहारमा उतार्ने बेला पनि यही हो । मुख्यकुरा त जनतालाई स्वास्थ्य सेवा दिन तम्तयार भएको सन्देश सरकारले दिनुपर्छ । आवश्यक परे सीमा नाकादेखि देशलाई नै लक डाउन गर्न पनि पछि पर्नु हुँदैन । यो अभियानलाई नागरिकहरुले पनि साथ दिनुपर्छ । सोमबारबाट घोषित कार्यक्रमहरुलाई पनि जनताले साथ दिनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology