`

झारा टार्ने परम्परा त्यागौ

संसारभर महामारीको रुप धारण गरिरहेको कोरोना भाइरस (कोभीड–१९)का कारण नेपाल पनि आक्रान्त छ । केही दिन यता नेपाल सरकारले साबधानीका लागि भन्दै अन्तराष्ट्रिय उडानदेखि सिमा नाका बन्द गर्ने कामहरु क्रमैसँग गरिरहेको छ । सोमबार मात्रै युरोपबाट कतारको बाटोहुँदै आएकी एक किशोरीमा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखापरेपछि आम सर्वसाधारणमा थप कौतुहलता र सन्त्रासको वातावरण सिर्जना भएको छ । नेपाल सरकारले लामो दुरीका सवारी, ठुलो भीडभाड, अन्तराष्ट्रिय उडान र सिमा नाकामा लगाएको बन्देजसँगै देशका तिनै तहमा यो लहर चलेको छ । प्रदेशका नाकाहरु बन्द गर्ने, जिल्लाका नाकाहरु बन्द गर्ने र स्थानीय तहका नाका समेत बन्द गर्ने निर्णयहरु सोमबार दिनभर गण्डकी प्रदेशका बिभिन्न तहमा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार दिउँसो जिल्ला सुरक्षा समितिको बैठक राख्यो । दुई बजेदेखि सुरु भएको बैठक साँढे तीन बजेसम्म चल्यो । नेपाल सरकारले सार्वजनिक सवारी साधन सञ्चालनमा लगाएको रोकलाई थप मद्धत पुग्ने गरेर जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका कुनैपनि ठुला वा साना सवारी साधनमा रोक लगाउने निर्णय गरेर सार्वजनिक गरेको छ । कतिसम्म भने निर्णय गर्नेहरु नै आफ्नो गन्त्व्यमा पुग्ने समय समेत नराखी दिउँसो साँढे तीन बजे निर्णय गरेर निर्णय कार्यान्वयनमा आउने समय तीन बजेदेखि भनियो । पर्वत, स्याङ्जा लगायतका जिल्ला प्रशासन कार्यालयले पनि यो खालको निर्णय गरेका छन् । पर्वत प्रशासनले गरेको निर्णयलाई कर्फु भनेर प्रचार गरियो, त्यसको असर सवारीमा प¥यो । त्यसबाट यात्रामै रहेका कयौं यात्रुहरुले भोगेको दुःख व्याख्या गरिनसक्नु छ । सर्वसाधारणको हितका लागि भएका निर्णय अन्यथा होईनन् तर कम्तिमा निर्णय गर्ने समयमा बुद्धिमत्ता हुनुपर्छ भन्ने हो । प्रदेशको सरकारले प्रदेशका सिमा नाका सबै बन्द गर्दा भोली कोरोनाका कारणले भन्दा पनि दैनिक उपभोग्य बस्तुको आपुर्तीमा आउने समस्याका कारणले सिर्जना हुने भोकमरीको मुल्यांकन गरेको छ छैन भन्ने मुख्य प्रश्न हो । यो प्रश्न जिल्ला प्रशासन र स्थानीय तहका लागि समेत लागु हुने प्रश्न हो । साँच्चै सोचे बुझेर निर्णयहरु भैरहेका छन्भने किन साँढे तिन बजेको निर्णय कार्यान्वयन समय तीन बजे नै राखियो । वास्तवमा लहलहैका आधारमा भएका निर्णयहरुको प्रभाव सकरात्मकभन्दा नकरात्मक नहोला भन्न सकिन्न । अर्को कुरा हतारमा गरिएका निर्णयहरु कार्यान्वयन गर्न चुनौतीपूर्ण हुन्छन् भन्ने कुराको समेत सोमबार भएका गतिबिधिहरुले प्रस्ट पारेका छन् । निर्णयहरु भटाभट भए तर कार्यान्वयनमा ल्याउन सकिएन । सिमा नकटेका सवारीहरु चलिरहे । साँच्चै संक्रमणको अवस्था आएको भए सवारी र पैदलमार्ग गरेर पोखरादेखि मुस्ताङ पुग्ने यात्रुले चार जिल्लाका चारवटा सवारी साधनमार्फत यो संक्रमण धेरै समुदायको बिचमा पु¥याए ।
नागरिक सचेत हुनु जरुरी छ । कोरोनाको संक्रमण सरकारलाई होईन नागरिकलाई लाग्छ भन्ने कुरा बुझौं । हामी आँफै सचेत बन्ने हो भने सरकार र उसको मातहतको प्रशासनले अघोषित कर्फु लगाउनु पर्दैन । साँच्चै केही दिनका लागि हामी पुर्ण तयार छौं भने पुरै बन्द गरौं । लहलहैमा झारा टार्ने र प्रकृया पुरा गरेको देखाउने काम मात्रै छिटो बन्द गरौं । आफ्नो घरमा सुरक्षित रहन सिकाउनु नै अहिलेको उपयुक्त निर्णय हुन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology