`

कोरोना भाइरसपछिको विश्व

यति बेला मानवजातिले विश्वभर संकट सामना गरिरहेको छ। यो सायद हाम्रो पुस्ताकै सबभन्दा ठूलो संकट हो। आउने केही साता सरकार र मान्छेले लिने निर्णयहरूले नै सायद आगामी केही वर्षसम्मकै लागि विश्वको भावी स्वरूप तय गर्नेछ।

ती निर्णयले हाम्रो स्वास्थ्य प्रणाली मात्र नभई अर्थतन्त्र, राजनीति र संस्कृतिलाई समेत नयाँ स्वरूप प्रदान गर्नेछन्। हाम्रा कदमले पार्ने दीर्घकालीन प्रभावलाई पनि हामीले झेल्नुपर्नेछ। तसर्थ हामीले उपलब्धमध्ये कुन विकल्प छनोट गर्ने भनेर टुंगो गर्नुअघि तत्काल यो समस्या सामना गर्ने हिसाबले मात्र नभई संकट टरिसकेपछि पनि हामीले कस्तो दुनियाँ बसाल्दैछौं भनेर एकपटक आफैंलाई प्रश्न गर्नु जरूरी हुनेछ।

कुनै विन्दुमा गएर अहिलेको यो तुफान पक्कै थामिनेछ। मानवजाति पक्कै जीवित रहनेछन्। हामीमध्येका धेरैजना बाँची नै रहनेछौं, तर हामीले आगामी पुस्ताका लागि एउटा फरक संसार छाडेर जानेवाला छौं।

संकटकालहरूको एउटा चरित्र नै हो, तिनीहरू छोटो समयका लागि आउँछन्। त्यसनिम्ति अपनाइएका तौरतरिका भने मानव जीवनका लागि पछिसम्म ‘समाधानको सूत्र’ बनेर बसिरहन्छन्।

संकट बेला त्यस्ता निर्णय केही घन्टामै लिइन्छन् जसनिम्ति सामान्य अवस्थामा वर्षौं लाग्ने थियो। यो हिसाबले भन्ने हो भने इतिहासको प्रक्रिया नै यसले ‘फास्ट फरवार्ड’ गरिदिन्छ। अनि यस्तो बेलामा केही नगरी बस्दा झनै खतरा हुने भएकाले अपरिपक्व र खतरनाक प्रविधि अपनाइन्छन्। ठूलो मात्राको सामाजिक प्रयोगका निम्ति तमाम मुलुकहरू ‘गिनी पिग’ (परीक्षणका निम्ति प्रयोग गरिने मुसा) बन्न पुग्छन्।

अहिलेजस्तै सबैले घरबाटै काम गर्न थाले र दूरी राखेरै संवाद गर्न थाले भने के होला? भएभरका स्कुल र विश्वविद्यालय इन्टरनेटबाटै चल्न थाले भने के होला?

सामान्य अवस्थामा त सरकार, व्यापारिक प्रतिष्ठान र शैक्षिक बोर्डहरूले त्यस्तो प्रयोग कदापी स्वीकार्दैनन्। तर, अहिले हामी सामान्य अवस्थामा छैनौं। संकटको यो घडीमा हामीसँग दुइटा मात्र छनौट सुविधा छ।पहिलो, अधिनायकवादी निगरानी र नागरिक सशक्तिकरणको विषय। दोश्रो, राष्ट्रवादी पृथकता र वैश्विक एकता।

कुनै पनि महामारी रोक्न मान्छेको शरीर भित्रै पसेर निगरानी गर्नुपरे तमाम मानव समुदायले केही नियम पालना गर्नैपर्ने हुन्छ। यसका लागि दुइटा प्रमुख तरिका हुन्छन्।एउटा, सरकारले प्रत्येकको निगरानी गर्ने र नियम उल्लंघन गर्नेलाई कारवाही गर्ने। मानव इतिहासमै आज पहिलोपटक प्रविधिले हरेक मान्छेको निगरानी गर्नु सम्भव बनाइदिएको छ। यही कुरा पचास वर्षपहिले रूसको जासुसी संस्था ‘केजिबी’ले पाउँदो हो त, २४ करोड रूसीलाई सजिलै २४ घन्टै पछ्याइरहन सक्ने थियो। तर, उसले न त्यो गर्न सक्यो, न संकलन गरेका सूचनाको उचित प्रशोधन गर्न सक्यो। प्रविधि यहाँसम्म आइनपुगेको त्यो समयमा केजिबीले मानव जासुस र तथ्यांक विश्लेषकको भर गर्नपर्‍यो। जासुसले प्रत्येक नागरिक पछ्याउन सम्भवै भएन।तर, आज यो सब काम सजिलै फत्ते गर्न प्रविधि हाजिर छ, मान्छेको आवश्यकतै पर्दैन।

कोरोना भाइरससँग मुकाबिला क्रममा धेरै सरकारले निगरानीका नयाँ उपकरण परिचालन गरिसकेका छन्। यो काममा चीन अझ अगाडि छ।उसले मान्छेका स्मार्टफोनमार्फत्, अनुहार पहिचान गर्ने लाखौं-करोडौं क्यामरामार्फत् र शरीरको तापक्रम र स्वास्थ्य अवस्था जाँच्न दिने मानिसका मार्फत् यस्तरी सूचना संकलन गर्‍यो, चिनियाँ अधिकारीले कोरोनाका सम्भावित संक्रमितको तत्काल पहिचान मात्र नभई उनीहरूको हिँडडुल र को-कसका नजिक परे भन्ने समेत तत्काल जानकारी संकलन गर्न सक्षम भइदिए। मोबाइलका कतिपय एपले त नागरिकलाई उनीहरू सम्भावित संक्रमितसँग कति नजिक छन् भनेर चेतावनी दिने कामसमेत गरेको थियो।

यस्तो प्रविधि पूर्वी एसियामा मात्र सीमित छैन। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यहाँको सुरक्षा एजेन्सीले आतंकवादी गतिविधिसँग जुध्न प्रयोग गर्ने निगरानीका प्रविधि कोरोना बिरामी पत्ता लगाउन प्रयोग गर्ने अनुमति भर्खरै दिएका थिए। यो कदमलाई सम्बन्धित संसदीय उपसमितिले लागू गर्न अनुमति नदिँदा नेतान्याहुले ‘संकटकालीन प्रावधान’ प्रयोग गरेरै त्यो विरोध निश्तेज पारिदिए। यसमा खास अचम्म मान्नुपर्ने कारण के र? भन्ने पनि लाग्ला।

पछिल्ला केही वर्षमा सरकार र संस्थानले मानव गतिविधि नियाल्न र नियन्त्रित गर्न योभन्दा उन्नत प्रविधि प्रयोग गरेकै छन्। तै पनि यदि हामी सावधान भएनौं भने यो कोरोना महामारी बेला यसरी गरिने निगरानीले हदको विन्दु समात्न सक्छ। अहिलेसम्म प्रविधिले मानव निगरानी गर्ने मामिलामा आफूलाई अलग राख्दै आएका राष्ट्र पनि अब यसमा समाहित हुनेछन्। हालसम्म मान्छेको छालाभन्दा बाहिरका गतिविधि मात्र निगरानीमा हुने गरेकामा अब छालाभित्रका जानकारी पनि निगरानीमा पर्ने अर्थमा यसो भनिएको हो।

अहिलेसम्म कसैको औंलाले मोबाइल स्क्रिनमा कुनै लिंक थिच्नेबित्तिकै उसले के हेर्न वा गर्न खोजिरहेको छ भन्ने सरकारले जान्ने प्रयास गर्थ्यो। तर, कोरोनाले त्यो चासो अब परिवर्तन गरिदिनेछ। अब सरकारले त्यो स्क्रिन स्पर्श गर्नेको औंला कति तापक्रमको छ र त्यो औंलाभित्र भइरहेको रक्तसञ्चार प्रवाह कस्तो छ भनेर जान्ने प्रयत्न गर्नेछ।सबभन्दा मुख्य कुरा, हामीलाई जति बेला कसैले निगरानी गरिरहेको हुन्छ, त्यति बेला हामीमध्ये कसैलाई पनि त्यहाँ के-के कुरा तलासी भइरहेको छ र यसले आउँदा वर्षमा के-के फरक ल्याउने छन् भन्ने थाहै हुन्न।निगरानी गर्ने प्रविधिको यति तीव्र विकास भइरहेको छ, मात्र १० वर्ष अगाडिको ‘साइन्स फिक्सन’ फिल्म हामीलाई पुरानो लाग्न थालेको छ।

एकछिन मानौं, कुनै सरकारले उसका प्रत्येक नागरिकलाई बायोमेट्रिक प्रविधियुक्त घडी लगाउन अनिवार्य गर्‍यो। हरेकको २४ घन्टै शरीरको तापक्रम र मुटु चाल मापन गर्न थाल्यो। र, त्यसरी प्राप्त तथ्यांक सरकारी तवरबाटै प्रशोधन तथा अध्ययन गर्न थालियो।

यस्तो अवस्थामा तपाईंलाई कति ज्वरो आइरहेको छ भन्ने जानकारी तपाईंभन्दा पहिले त्यो प्रणालीले थाहा पाइसक्नेछ। त्यो प्रणालीले तपाईं कता-कता जानुभएको थियो र को-कोसँग भेट भएको थियो भन्ने पनि थाहा पाउनेछन्। यस्तो अवस्थामा संक्रमण फैलावट तत्काल नियन्त्रण गर्न सकिन्छ र त्यसको तत्काल व्यवस्थापन पनि सजिलो हुन्छ।यस्तो प्रणालीले महामारीलाई केही दिनभित्रै काबुमा राख्न सक्नेछ। यो सब सुनिरहँदा त तपाईं आनन्दित हुनुभयो होला होइन? अब यसको अर्को पक्ष हेर्नुस्- यसलाई मान्यता दिने हो भने यसप्रकारको नागरिकको डरलाग्दोगरी निगरानी राख्नुले पनि साथसाथै वैधानिकता पाउनेछ।

उदाहरण, यदि कसैले मैले सिएनएनको बदलामा फक्स न्युज च्यानल हेरिरहेको छु भन्ने थाहा पाउनासाथ उसले मेरो राजनीतिक झुकाव मात्र नभई व्यक्तित्वबारे पनि सूचना प्राप्त गर्नेछ। अनि यस्तो अवस्थामा के कुरा हेर्दा मेरो शरीरको तापक्रम, रक्तसञ्चार र मुटुको गतिमा कस्तो प्रभाव पर्छ भन्ने कुरा थाहा पाउँछ। यसको अर्थ मलाई कुन कुराले हाँसो उठाउँछ, कुन कुराले रुवाउँछ र के कुराले असाध्यै धेरै रिस उठाउँछ भन्ने कुरा पनि छर्लंग पारिदिन सक्छ।

ज्वरो, रुघाखोकी जस्तै रिस, उमंग र पट्यार लाग्नु पनि मानिसको शारीरिक प्रक्रिया नै हो भन्ने बुझ्नु यहाँनिर जरुरी छ। तसर्थ, जुन प्रविधिले तपाईंको रुघाखोकी पहिचान गर्छ, त्यसैले तपाईंको हाँसो पनि बुझिरहेको हुन्छ।

यस्तोमा सरकार र संस्थानहरूले भएभरका सबैको बायोमेट्रिक डाटा राख्न सुरू गरिदिए भने हामीभन्दा पहिले नै हाम्राबारे उनीहरूले जानकारी संकलन गरिसक्नेछन्। र, हाम्रा भावनालाई पनि उनीहरूले ठम्याउने मात्र नभई नियन्त्रित गरेर आफू अनुकूल परिचालन गरिदिन सक्नेछन्। कुन वस्तु किन्नेदेखि लिएर कसलाई भोट दिनेसम्म।बायोमेट्रिक निगरानीले ‘क्यामम्ब्रिज एनालिटिका’को ‘डाटा ह्याकिङ’लाई पनि अब ढुंगे युगमा धकेल्ने भएको छ।

कल्पना गरौं, सन् २०३० मा उत्तर कोरियाले सबै नागरिकलाई २४ घन्टै बायोमेट्रिक घडी लगाउन अनिवार्य गरिदियो। यस्तो अवस्थामा उत्तर कोरियाली नेताको भाषण चलिरहँदा कुनै नागरिकको घडीले रिसाएको संकेत प्रवाह गरिदियो भने त उसको काम तमामै हुनेछ।

यसप्रकारको बायोमेट्रिक निगरानी संकटकालमा तत्काल समाधानका लागि मात्र प्रयोग गर्न पनि सकिन्छ भनेर मानिलिऊँ। मानिलिऊँ संकट टरेपछि यो हटाइनेछ। त्यस्तो अवस्थामा पनि यो नबिर्सौं कि तत्कालका निम्ति अपनाइएका उपायले हत्तपत्त पिछा नछोड्ने नराम्रो प्रवृत्ति हुन्छ, मानौं क्षितिजमा सदैव नयाँखाले संकट देखापरिरहेकै छ।

उदाहरण, मेरो मुलुक इजरायलकै कुरा गरौं। सन् १९४८ मा त्यहाँ संकटकाल घोषणा गरियो। त्यसको कारण थियो स्वतन्त्रताको लडाइँ। त्यो बेला प्रेस सेन्सरसिपदेखि लिएर जमिन अधिग्रहण हुँदै संकटबेला कसरी खीर पकाउने (मजाक गरेको होइन) सम्मका विभिन्न उपाय अवलम्बन गरिएका थिए। स्वतन्त्रताको त्यो लडाइँमा निकै पहिले विजय हासिल भइसकेको छ।

तर, इजरायलले उति बेला लगाएको संकटकाल कहिल्यै समाप्त भएको घोषणा गरेन। अनि, सन् १९४८ मा अपनाइएका ‘तत्कालीन’ उपायबाट उक्त मुलुक कहिल्यै मुक्त भएको छैन (संकट बेला खीर पकाउने तरिका चाहिँ सन् २०११ मा बल्लतल्ल अन्त्य भएको थियो)।

अहिले नै कोरोना संक्रमण शून्यमा झर्‍यो भने पनि केही लोभी सरकारले फेरि भाइरस आक्रमण हुनसक्ने बताउँदै बायोमेट्रिक निगरानी प्रणाली यथावत राख्ने पक्षमा लागि पर्न सक्छन्। अथवा, अफ्रिकामा फेरि नयाँ इबोला भाइरसको त्रास देखाउन सक्छन्। यस्ता अनेक तर्क अघि सारिन सक्छ।

यसरी हाम्रो गोपनियतालाई पछिल्लो समय ठूलो लडाइँ मैदानमा उभिनुपर्ने अवस्था सिर्जना भएको छ। यो लडाइँको चरम विन्दु अहिलेको यही कोरोना संकट बन्ने अवस्था देखा परिरहेको छ।

किनकि, स्वाभाविक रूपमा मानिसलाई उनीहरूको स्वास्थ्य प्यारो छ कि गोपनियता भनेर सोधियो भने स्वास्थ्यले प्राथमिकता पाउने छ।

कुनै प्रहरीले चापलुसीपूर्वक ‘गोपनियता र स्वास्थ्यमध्ये के छान्नुहुन्छ’ भनेर सोध्यो भने बुझ्नुस्, समस्या त्यहीँ सुरू भयो। किनकि त्यो सोधाइ नै गलत हुनेछ। हामीलाई गोपनियता र स्वास्थ्य दुवै प्रिय हुन्छन् र दुवै छान्न पाउनुपर्छ।

हामीले कुनै पनि किसिमको अधिनायकवादी निगरानी प्रणालीको बन्धन नभइकनै हाम्रो स्वास्थ छान्न पाउनुपर्छ। बरू नागरिकलाई शक्तिशाली बनाएरै महामारी अन्त्य गरिनुपर्छ।

पछिल्ला साता कोरोनामाथि काबु राख्न दक्षिण कोरिया, ताइवान र सिंगापुरजस्ता मुलुक सफल देखिएका छन्। त्यसो त यी मुलुकले पनि थोरै मात्रामा प्रविधि मद्दतले पछ्याउने काम नगरेका होइनन्, तै पनि उनीहरूको सबभन्दा बढी जोड व्यापक परीक्षण, इमान्दारिपूर्वक सूचना दिनु र सु-सूचित नागरिकबाट भरपुर सहयोग आर्जन गर्नुमा रह्यो।

केन्द्रिकृत निगरानी र कडा सजाय व्यवस्था मात्रै मानिसलाई लाभदायी बाटोमा डोर्‍याउने एकमात्र तरिका पक्कै होइन। सर्वसाधारणलाई वैज्ञानिक तथ्य राम्रोसँग बुझाइदिने र सार्वजनिक संस्थाप्रति आममानिसको विश्वास जागृत गराएर उनीहरूका यथार्थ अवस्था प्राप्त गर्ने हो भने नागरिकहरू आफैंले कुनै ‘ठूलो दाइ’को निगरानीबिनै आफैं जिम्मेवार ढंगले प्रस्तुत गर्न सक्छन्।

सु-सूचित र आफू भित्रैबाट उत्प्रेरित जनता भनेका सरकारी लाठीले तर्साइएका लापरवाह जनसंख्याभन्दा कैयौं गुणा शक्तिशाली र प्रभावकारी हुन्छन्।

एकछिनका लागि साबुनपानीले हात धुने उदाहरण नै हेरौं। मानवलाई रोगब्याधबाट टाढा राख्न यो आफैंमा महान उपाय थियो। यति जाबो कामले बर्सेनि करोडौंको ज्यान बचाइरहेको छ। आज हामीलाई यो ‘जाबो कुरा’ जस्तो लागिरहेको छ, जबकि १९ औं शताब्दीमा मात्र वैज्ञानिकहरूले यो कुरा पत्ता लगाएका हुन्। त्यसअघि डाक्टर-नर्सले समेत एउटा बिरामीको शल्यक्रिया गरेपछि हात नधोई अर्कोको चिरफार गर्थे।

आज करोडौंले दैनिक साबुनपानीले हात धुनुको पछाडि कसैले कारबाही गर्ला कि भन्ने भय नभई त्यसबाट हुने फाइदा बुझेकाले नै हो।

म हात धुन्छु, किनकि मैले ब्याक्टेरिया र भाइरसबारे सुनेको छु। यी झिना कुराले पनि रोगब्याध लगाइदिन सक्छ जसलाई साबुनपानीले एकैछिनमा चट् पारिदिन्छ भन्ने थाहा पाएरै हो।

यो तहमा समझदारी र सहकार्य सम्पूर्ण जनसंख्याबाट आर्जन गर्न आवश्यक एउटै कुरा हो, विश्वास। मान्छेले विज्ञान, राज्य र आमसञ्चारका माध्यममाथि विश्वास गर्नुपर्‍यो।

पछिल्ला केही वर्षमा गैरजिम्मेवार राजनीतिकर्मीले जानाजान विज्ञानमाथिको विश्वास ओझेलमा पारिदिन खोजे। सार्वजनिक निकाय र आमसञ्चारमाथिको विश्वास पनि डगमगाइदिन खोजे। अब आएर यिनै गैरजिम्मेवार राजनीतिज्ञमा ‘यस्ता कुरामा जनतामाथि भर पर्नुहुँदैन’ भन्दै अधिनायकवादको राजमार्ग समात्ने छटपटी उत्पन्न हुनसक्ने खतरा देखिँदैछ। वर्षौं लगाएर धूलोपिठो बनाइएको विश्वास एक रातमा कदापी जगाउन सकिँदैन।

तर, अहिले सामान्य समय होइन। संकटबेला दिमागले पनि छिट्छिटो बाटो फेर्छ। परिवारभित्रै दाजु भाइमा वर्षौंको तिक्तता जमेर बसेको छ भने पनि जब कुनै आपत आइपर्छ, मानिसले अचानक कताकताबाट विश्वासले भरिएको विशाल तलाउ फेला पार्छ र एकले अर्कालाई सहयोग गर्न जागरूक भइदिन्छन्। यो मानव चरित्र हो।

नागरिकलाई निगरानीमा राख्ने राज्य तयार पार्नुभन्दा बरू उनीहरूलाई विज्ञान, सार्वजनिक संस्थान र आमसञ्चारप्रति विश्वास गर्ने वातावरण तयार पार्नु धेरै बुद्धिमानी हुन्छ। यसनिम्ति ढिलो भइसकेको छैन।

हामीले नयाँ प्रविधि पनि प्रयोग गर्नुपर्छ। तर, त्यस्तो प्रविधिले मानिसलाई बन्धक बनाउने होइन, झन् बढी शक्तिशाली बनाउन सक्नुपर्छ। मेरो शरीरको तापक्रम र रक्तसञ्चार निःसन्देह जाँच गरियोस्, तर त्यसको तथ्यांक कुनै पनि हालतले कुनै सरकारलाई गलत तवरले बलियो बनाउन दुरुपयोग हुन नपाओस्। बरू त्यो तथ्यांकले मलाई अझ धेरै सु-सूचित गरी निजी छनौटको अधिकार प्रदान गरोस् र सरकारलाई पनि उसका निर्णयमा जिम्मेवार बनाउन दबाब देओस्।

यदि मैले चौबिसै घन्टा मेरो स्वास्थ्य अवस्था थाहा पाइरहने हो भने मैले आफू कहाँनिर अन्य व्यक्तिको स्वास्थ्यका निम्ति हानीकारक बन्दैछु भन्ने मात्र होइन, मेरा कुन आनीबानीले मेरो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दैछ भन्नेबारे पनि जानकार हुनेछु। यदि म आफैं भरपर्दो तवरले कोरोना भाइरसबारे तथ्यांक विश्लेषण गर्न सक्ने भएँ भने, सरकारले मलाई साँचो कुरा भनिरहेको छ/छैन भनेर छुट्याउन सक्नेछु। यो विकराल महामारीनिम्ति सरकारका नीति ठीक बाटोतर्फ गइरहेको छ/छैन भन्ने मूल्यांकन पनि गर्न सक्नेछु।

हामी जब निगरानी प्रविधिका कुराकानी गरिरहेका हुन्छौं, त्यति बेला त्यस्तो प्रविधि सरकारले जनताको निगरानीका लागि मात्र होइन, जनताले सरकारको निगरानीनिम्ति पनि प्रयोग गर्न सक्छ भन्ने नभुलौं। यस हिसाबले कोरोना भाइरस महामारी स्वयंमा नागरिकताकै पनि ठूलो परीक्षणको अवसर बन्दैछ।

आउँदा दिनमा हामी प्रत्येकले षडयन्त्रका सिद्धान्त र स्वार्थी राजनीतिमा लिप्त नेताभन्दा वैज्ञानिक तथ्यांक र स्वास्थ्यसम्बन्धी विज्ञमाथि विश्वास बढाउँदै लैजानुपर्नेछ।

हामी सही बाटो छान्न चुक्यौं भने ‘यो संकट बेला ज्यान बचाउन अब कुनै उपाय रहेन’ भन्दै मुश्किलले आर्जित हाम्रा बहुमूल्य स्वतन्त्रताबाट हामी आफैं टाढिने खतरा उत्पन्न हुनेछ।

यो बेला हामीले दोश्रो महत्वपूर्ण छनौट अर्थात् राष्ट्रवादी पृथकता र वैश्विक एकतामध्ये रोज्नुपर्दा विश्वव्यापी योजनाको आवश्यकता पर्नेछ। यति बेला यो महामारी मात्र होइन, यसले उत्पन्न गर्ने आर्थिक संकट पनि संसारकै समस्याका रूपमा उभिएको छ।

यी दुवैलाई विश्वव्यापी सहकार्यले नै प्रभावकारी रुपमा समाधान गर्न सकिनेछ।

सबभन्दा पहिले त भाइरस परास्त गर्न संसारभर व्यापक सूचना आदानप्रदान जरुरत पर्नेछ। भाइरससँग लड्नुपर्दा मानवसँग उपलब्ध यो ठूलो सुविधा पनि हो।

चीन र अमेरिकामा रहेका कोरोना भाइरसले मानवलाई कसरी संक्रमित गर्ने भनेर एकअर्कासँग सहकार्य गर्न सक्दैनन्। तर, चीनले अमेरिकालाई कोरोनासँगको मुकाबिलामा आफूले आर्जन गरेका महत्वपूर्ण पाठ सिकाउन सक्छ। एकाबिहानै इटालीका कुनै चिकित्सकले मिलानमा कसैको ज्यान बचाउन कसरी सफलता हात पारे भन्ने जानकारीले साँझपख तेहरानमा कसैको प्राण जोगिन सक्छ। थुप्रै रणनीतिमध्ये के अपनाउने भनेर बेलायतको सरकार रुमल्लिरहनुभन्दा त्यो समस्या एक महिनाअगावै झेलिसकेको कोरियाले कसरी पार पायो भनेर ऊसँग सल्लाह लिन सक्छ।

तर, यो सब परिस्थिति विकास गर्न हामीबीच सबभन्दा पहिले विश्वव्यापी आपसी सहयोग र विश्वासको वातावरण हुनु अत्यावश्यक छ।

आगामी दिनमा हामी प्रत्येकले षडयन्त्रका सिद्धान्तभन्दा बढी विज्ञानका तथ्यांक र स्वास्थ्य विज्ञमाथि विश्वासको विकास गर्नुपर्नेछ। अनि स्वार्थी राजनीतिमा लिप्त राजनीतिज्ञका मुलुकले आफूलाई माथि उठाएर आफूले प्राप्त गरेका तथ्यांक र भित्री जानकारी खुला रूपमा सूचना आदान-प्रदानबाट फैलाउने र त्यसैगरी अरूसँग भएका जानकारी पनि प्राप्त गर्न लगाउनेतर्फ प्रयत्नशील हुनुपर्नेछ।

हामीले स्वास्थ्य उपकरण विकास तथा वितरणमा पनि विश्वव्यापी प्रयाससहित साझेदारी गर्नुपर्नेछ। विशेषगरी परीक्षण उपकरण र श्वासप्रश्वाससम्बन्धी मेसिनहरूको यति बेला धेरै आवश्यकता छ।

मुलुकहरूले एक्लाएक्लै स्थानीय तवरबाट उत्पादन गर्नु र पाएजति कुरा थुपार्दै लैजानुभन्दा पनि विश्वव्यापी संयोजनसहित कसले के राम्ररी तयार पार्न सक्छ भन्ने पहिचान साथ आवश्यक कुराको संयुक्त उत्पादन र विशेषगरी जीवन बचाउने उपकरणमा बढी न्यायपूर्ण हुनेगरी वितरण प्रणाली विकास गर्नुपर्छ।

जसरी युद्ध बेला मुलुकहरूले अत्यावश्यक कलकारखानाहरूको राष्ट्रियकरण गर्छन्, त्यसैगरी कोरोना भाइरसविरुद्ध मानवजातिकै यो युद्धमा अत्यावश्यक सामग्री उत्पादनतर्फ मानवीयताको प्रस्तुती आवश्यक पर्न सक्छ। थोरै मात्रामा कोरोना संक्रमण बेहोरिरहेको कुनै धनी मुलुकले ठूलो मात्रामा झेलिरहेको कुनै गरिब मुलुकका निम्ति सक्दो महत्वपूर्ण उपकरण पठाइदिएर सहयोग गर्न सक्छन्। त्यस्तो बेला त्यो धनी मुलुकलाई पछि फेरि आवश्यक परे अर्को कुनै मुलुकले उदार ढंगले सहयोग गर्ने हिसाबले आपसी विश्वास पनि विकास हुनु जरुरी छ।

त्यसैगरी यस्तैखाले आपसी सहयोग स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिका मामिलामा पनि आदानप्रदान हुनसक्छ। तत्काल कम प्रभावित मुलुकका स्वास्थ्यकर्मी बढी प्रभावित मुलुकतर्फ पठाउन सकिन्छ। त्यसले स्वास्थ्यकर्मीका लागि अनुभवको विकास गर्ने मात्र नभई आफ्नै मुलुकलाई परेका बेला अरूबाट पनि त्यस्तै सहयोग पाउने वातावरण तयार पार्नेछ।

यसप्रकारको विश्वव्यापी आपसी सहयोग आर्थिक क्षेत्रमा पनि उत्तिकै जरुरी छ। अर्थतन्त्र र आपूर्तिको विश्वव्यापी चक्रकै हिसाबले हेर्दा पनि यदि हरेक सरकारले अरूहरूको बेवास्ता गर्दै आफ्नै मात्र दुनो सोझ्याउने बाटो समाते भने समस्या झनै गहिरो हुनेछ। हामीलाई यति बेला विश्वव्यापी कार्ययोजनाको जरुरत छ र त्यो तत्काल बनाइहाल्नुपर्छ।

त्यसैगरट्ठ अर्को आवश्यकता भनेको भ्रमणसम्बन्धी विश्वव्यापी सम्झौता विकास गर्ने पनि हो। तमाम अन्तर्राष्ट्रिय यात्रा महिनौंसम्म स्थगितै अवस्थामा राखियो भने त्यसले संकट गहिरो बनाउने मात्र नभई कोरोनाविरुद्धको लडाइँमा समेत हामी मानवलाई कमजोर बनाउने छ।

मुलुकहरूले अत्यावश्यक भ्रमण मामिलामा आपसी सहकार्य विकास गरेर विशेषगरी वैज्ञानिक, चिकित्सक, पत्रकार, राजनीतिज्ञ र व्यापारीलाई आवश्यकताअनुसार सीमा वारपार गर्ने अनुमति प्रदान गर्नुपर्छ। त्यसनिम्ति यात्रीलाई सुरूमा स्वदेशमै पर्याप्त परीक्षण गरेर आवतजावत गराउनेगरी विश्वव्यापी सम्झौता तयार पार्न सकिन्छ। कुनै पनि विमानमा चढेर आएका प्रत्येक यात्री सावधानीपूर्वक परीक्षण गरिएका हुन् भन्ने विश्वास भयो भने आफ्नो मुलुकमा भित्र्याउन जो पनि तयार भइहाल्छन्।

दुर्भाग्यवश यीमध्ये कुनै पनि काम यति बेला राष्ट्रहरूबीच मुश्किलले भइरहेका छन्। सिंगो अन्तर्राष्ट्रिय समुदाय यति बेला एकप्रकारको सामूहिक पक्षाघातको अवस्था बेहोरिरहेको छ। यस्तो लागिरहेको छ, हामी यतिबेला अभिभावकविहीन पृथ्वीमा बाँचिरहेका छौं।

विश्वभरिका नेताहरूको यस विषयमा आपतकालीन बैठक बसेर केही साता पहिले नै सामूहिक कार्ययोजना तयार भइसकेको हुनुपर्ने अपेक्षा हरेकले राखेको हुनुपर्छ। विकसित राष्ट्रको संगठन (जी सेभेन) का नेताले यसै साता मात्र बल्ल यो विषयलाई लिएर आपसमा भिडिओ कन्फ्रेन्स गरे जसले माथि उल्लेख गरेजस्तो कुनै ठोस प्रतिफल पनि दिएको पाइएन।

यसअघि विश्वमा संकट आएका बेला, चाहे त्यो सन् २००८ को आर्थिक संकट होस् वा सन् २०१४ को इबोला महामारी नै, अमेरिकाले संसारभर नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो। तर, अहिलेको मामिलामा वर्तमान अमेरिकी प्रशासनले त्यस्तो नेतृत्वदायी भूमिकाबाट आफूलाई पन्छाइरहेको देखिन्छ। बरु मानवताको भविष्यभन्दा पनि अमेरिकाको महानता स्थापित गर्नेतर्फ नै उसको ध्याउन्न स्पष्ट देखिएको छ।

वर्तमान अमेरिकी प्रशासनले त उसका नजिकका साझेदारको साथ पनि अहिले छाड्दै गएको देखिन्छ। युरोपियन युनियनबाट सम्पूर्ण यात्रीलाई प्रतिबन्धित गर्नुभन्दा पहिले उसले यसबारे एकपटक युरोपियन युनियनलाई पूर्व जानकारी दिनुसम्म पनि जरुरी ठानेन। र यस्तो महत्वपूर्ण कुरामा ती राष्ट्रसँग सल्लाहको आवश्यकता नै देखेन।

बरू जर्मनीको एक औषधि कारखानालाई एक अरब अमेरिकी डलरको प्रस्तावसहित नयाँ ‘कोभिड १९’ खोप तयार पार्न लगाएर त्यसमा एक्लो आधिपत्य कायम गर्न खोजेको भन्दै उसँग जर्मनीसमेत चिढियो। वर्तमान अमेरिकी प्रशासनले कथंकदाचित आफूलाई सच्याएर विश्वव्यापी कार्ययोजनाका साथ अगाडि आएछ भने पनि केहिले अझै तिनै एक नेतालाई पछ्याइरहने छन् जो न कहिल्यै जिम्मेवारी वहन गर्न खोज्छन्, न आफूबाट भएका गल्ती महशुस गर्छन्। र जो भएभरका गल्ती अरूको हो भनेर औंल्याउँदै आफू सदैव जस लिन मात्र खोजिरहन्छन्।

यस्ता कुरामा अमेरिका पछि हटेपछिको जुन रिक्तता पैदा भएको छ, त्यसलाई अन्य मुलुकले तत्काल पूरा गरेनन् भने अहिलेको यो महामारी रोक्न असाध्यै मुश्किल पर्नेछ। यति मात्र होइन यसले आउने थुप्रै वर्षसम्म अन्तर्राष्ट्रिय सम्बन्धमा विष फैलाइरहने जोखिम समेत देखिन्छ।

यति हुँदाहुँदै पनि प्रत्येक संकटले आफैंमा अवसर पनि बोकेर आएको हुन्छ। विश्वभर जुनकिसिमले मुलुकबीच आपसी विग्रह देखिएको छ, त्यसले भयावह खतरा निम्त्याउने छ भन्ने मानव समुदायलाई महशुस गराउन अहिलेको महामारीले सघाउनेछ भन्नेमा हामी विश्वस्त हुनैपर्छ।

अब मानव जगतले सोच्नै पर्नेछ- हामी यसैगरी विग्रहलाई लिएरै ओह्रालोको यात्रा जारी राख्नेछौं कि आगामी यात्राका लागि विश्ववन्धुत्वको बाटो समात्ने छौं? यदि विग्रहकै बाटो जारी राख्ने हो भने यसले संकट अझ लम्ब्याउनेछ। सायद आउने दिनमा हामीले अझ भयावह संकट निम्त्याउँदै जानेछौं।

यदि हामीले विश्ववन्धुत्वको बाटो समात्यौं भने त्यो कोरोना भाइरसविरूद्धको लडाइँ मात्र नभई २१औं शताब्दीका मानवलाई भविष्यमा पनि आक्रमण गर्ने सबै महामारी र संकटविरूद्धको संयुक्त विजय साबित हुनेछ।

(हरारीको यो लेख हामीले फाइनान्सियल टाइम्सबाट अनुवाद गरिएको हो ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology