`

लक डाउनको पूर्ण पालना गरौँ

सरकारले एकहप्ता देशलाई बन्द अवस्थामा राख्ने निर्णय गरेको छ । कोरोना भाइरस ( कोभिड –१९) को संक्रमणबाट नागरिकलाई बचाउन तथा यसको संक्रमण फैलन नदिन सरकारले यो निर्णय गरेको हो । कोरोना भाइरसबाट बच्ने सबैभन्दा राम्रो उपाय बनेकै हिँडडुल नगर्नु र घरमै बस्नु हो । सरकारले घोषणा गरेको लक डाउनको पूर्ण पालनाले मात्रै कोरोनासँग लड्न सकिन्छ । विश्वका शक्तिशाली मूलुकहरुले समेत कोरोना नियन्त्रण गर्न नसकेको सन्दर्भलाई हेरेर पनि हामीले लक डाउनको पूर्ण पालना गर्नैपर्छ । आत्म संयमबाहेक कोरोनाको अरु उपचार छैन । विश्व स्वास्थ्य संगठनले नेपालजस्तो देशमा कोरोनाको कहर बढ्न सक्ने चेतावनी दिएको सन्दर्भमा हामी सचेत हुनुैपर्छ । चीनको बुहानमा पुनः संक्रमण देखिएको जनाइएको छ । त्यसैले संकटको यो घडीमा सानो त्रुटिले पनि डरलाग्दो परिणाम ल्याउन सक्छ । सरकारले कोरोनाबाट बच्न र बचाउन धेरैअघि नै ‘लक डाउन’ को निर्णय गर्नुपथ्र्यो । तर, सरकारले समयमा त्यस्तो निर्णय लिन सकेन । मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जनता कफ्र्यू’ घोषणा गरेपछि मात्रै सरकारको आँखा खुल्यो । सरकारले ढिला निर्णय गर्दा कति क्षति भयो भन्ने सार्वजनिक भएको त छैन तर त्यो घातक थियो भन्ने प्रमाणित चाहिँ भएको छ ।

परिस्थिति विषम छ । मानव सभ्यताको इतिहासमै डरलाग्दो संकट मानिएको कोरोनाबाट आफू जोगिन र अरुलाई जोगाउन लक डाउनको पूर्ण पालना हुनुपर्छ । नेपाल लोकतान्त्रिक देश हो । अतः सरकारले लक डाउन घोषणा गर्दा बल प्रयोग हैन अनुरोध मात्रै गरेको छ । सरकारको अनुरोधलाई गम्भीरतापूर्वक नलिइएको पो हो कि भन्नेजस्तो देखिएको पनि छ । लक डाउनको पहिलो दिनमा देखिएको यो प्रवृत्ति आत्मघाति हुनसक्छ भन्ने आम नागरिकले बुझ्नुपर्छ । बन्दलाई खेलाँची ठान्दा आफ्नो मात्र नभएर अरुको जीवन पनि जोखिममा पर्नसक्छ भन्ने नागरिक स्वयंले बुझ्नुपर्छ । यो संयमता र धैर्य अपनाउने बेला हो । नागरिकबाट सरकारले अहिले गरेको अपेक्षा पनि यही हो । सरकारको अपेक्षाको उल्लंघन गर्ने अधिकार कसैसँग पनि छैन । आग्रहको उल्लंघन गरिए कारवाही गर्न पनि राज्य पछि पर्नु हुँदैन । राज्यले कोरोनाविरुद्धको लडाइँमा आफूलाई तयारी अवस्थामा राखेको जनाएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले पनि सक्दो तयारी गरिरहेकै छन् । विषमतालाई ध्यानमा राख्दै स्थानीय सरकारहरुले पनि लक डाउनको पूर्ण पालना गराउनेतर्फ ध्यान दिनुपर्छ । संकट भनेको रमाइलो हैन, अरुको ज्यान जोखिममा पार्ने छुट पनि कसैलाई हुँदैन । कोरोना सन्त्रास बढसँगै गण्डकी प्रदेशले उच्च सतर्कता अपनाउदैँ प्रदेश छिर्ने सबै नाका बन्द गरेको छ । प्रदेश सरकारले संघीय सरकारलाई नै पच्छ्याएको हो । यो कुनै नयाँ काम हैन तर पनि प्रदेश सरकारसमेत कोरोनाविरुद्धको अभियानमा छ भन्ने सन्देश भने यो निर्णयबाट दिइएको छ । यस्तो अवस्थामा लक डाउनको पूर्ण पालना गराउने दात्यिव सबै सरकारहरुले लिनुपर्छ । मुख्य कुरा, जनता आफै संयम बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology