`

कोरोना सन्त्रास अनि रक्त व्यवस्थापनमा समस्या

पोखरा–१५ मा बस्ने ६५ वर्षीय रोमबहादुर भण्डारी । देख्दा उनी अलि हतासमा देखिन्थे । गण्डकी अस्पताल पोखरामा रहेको ब्लड ब्यांकमा उनी रगत खोज्दै आइपुगे । उनलाई चाहिएको थियो, दुई पिन्ट ए नेगेटिब ब्लड । कलेजोमा समस्या भएकाले पर्वतका उनको भिनाजु मणिपाल अस्पतालमा केहीदिन पहिला भर्ना भएका रहेछन् । मंगलबार अपरेशन गर्नु पर्ने भएछ । डाक्टरले उनलाई तुरुन्तै ए नेगेटिब रगत ल्याउन ब्लड ब्यांक पठाएछन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को असर रगतमा पनि देखियो । ब्लड ब्यांकमा उनलाई चाहिएको रगत थिएन । मंगलबार नै लायन्स क्लब अफ मुनालले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा नमस्ते अस्पतालमा कार्यरत डा. गिरबहादुर खत्रीलाई बोलाएर रक्तदान गराइयो । एक जना बिरामीलाई चाहिने रगत व्यवस्था भयो । यस्तै दुर्लभ ब्लड गुप्रको रगत अभाव अहिले झन् बढेको छ ।

दिवस गुरुङ

चीनको हुवान प्रदेशबाट फैलिएको महामारी कोरोनाले नेपालमा पनि हरेक क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष असर पारेको छ । रक्त व्यवस्थापनमा यसको प्रत्यक्ष असर पोखरामा देखिएको छ । हरेकदिन पोखरामा मात्रै करिब ७० पिन्ट रगतको आवश्यकता पर्छ । केही हदसम्म यसलाई आपूर्ति गर्न पोखरा क्षेत्रीय रक्तसञ्चारको प्राङ्गणमा आज आकश्मिक रक्तदान कार्यक्रम आयोजना गरियो । आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले भने, ‘हाम्रो संस्थाले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । यसपालि चाहिँ रक्तसञ्चारको विशेष अनुरोधमा यस कार्यक्रम गर्न पायौँ’, उनले थपेँ, ‘हामीले सम्बन्धित निकायसँग नै अनुमति लिएर यस कार्यक्रम गरेका हौँ ।’
४५ वर्षीय सीता हर्मेल त्यही बाटो हिड्दै थिइन । रक्तदान गर्न अनुरोध गर्दा उनले सजिलै स्वीकार्दै पहिलो पटक रक्तदान गरिन् । उनको छुट्टै कथा रहेछ । बाग्लुङ घर भएकी हर्मेल ७२ सालको भुकम्पमा काठमाडौंमा थिइन । उनी बसेको होटल ग¥ल्यामगु¥लुम्म ढलेपछि उनी घाइते भइन । चार महिना अस्पताल बसेपछि उनी हिँडडुल गर्न सक्ने भइन् । त्यही घटना सम्झँदै उनले भनिन्, ‘मलाई त्यति बेला फेरि बाँचिन्छ जस्तो लागेको थिएन । १२ पिन्ट रगत चढाइएको थियो मलाई । त्यस्तो विषम परिस्थितिमा मलाई रगत दिने ती सबैप्रति सधैं कृतज्ञता प्रकट गर्छु ।’ अहिले पनि अवस्था त्यस्तै भएको छ कोरोनाले । मेरो रगतले पनि कसैको नयाँ जीवन पाओस्, उनले थपिन् । पहिलो पटक रगत दिएकी उनको मुहारमा फरक सन्तुष्टि प्रस्ट देखिन्थ्यो ।
रक्त व्यवस्थापनमा आफ्नो जिन्दगी दिएका व्यक्ति हुन्, जितेन्द्रमान शाक्य । नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीका अध्यक्ष समेत रहेका शाक्यले ६८ औं पटक रगत मात्र दिएका छैनन्, हजारौँ बिरामीका लागि रगत व्यवस्थापन गरिसकेका छन् । ‘यस्तो अवस्थामा हामी सबैले आफ्नो सुरक्षा अपनाएर रक्तदान गर्नुपर्छ । हाम्रो घर भनेकै ब्लड ब्यांक हो । आज मैले छोरा, भाउजु, दाई लिएर रक्तदान गराएँ । रगत अभावले नेपालमै कसैको मृत्यु हुन हामी दिदैनौं,’ उनले संकल्प गरेँ ।
रगतको अर्को विकल्प छैन । रगतको विकल्प रगत नै हो । ६० औं पटक रक्तदान गरिसकेका अर्का साइकले रक्तदाता हुन् तीर्थ राज अवस्थी । रगत व्यवस्थाका लागि उनले कति समय र पैसा खर्च गरे, उनले लेखाजोखा गरेका छैनन् । उनले रगत व्यवस्था गराएर नयाँ जीवन पाएका बिरामीले पछि फोन गरेर सम्झदाँ उनलाई गर्व लाग्छ । फरक सन्तुष्टि मिल्छ, उनलाई । ‘पोखरामा मात्र हैन, आवश्यक पर्दा हामी काठमाडौं, चितवन जस्ता सहरमा पनि रगत यहीँबाट पठाउँछौँ’, उनले भने ।
यता क्षेत्रीय रक्तसञ्चार केन्द्र भने हरपल रक्त व्यवस्थापनलाई चुस्त बनाउन लागि परेको छ । केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले भने, ‘हामीले रगत अभाव हुन नदिन दारी ग्याङले आयोजनाबाट १३६ र क्षेत्रीय प्रहरी टोलीबाट ११९ पिन्ट रगत संकलन गरी स्टकमा राखेका छौँ ।’ अहिले पोखरामा ए बी पोजेटिब, ए पोजेटिब र सबै नेगेटिब ब्लड अभाव हुने अवस्था आएको छ । कोरोनाको कारणले गर्दा हामीले केन्द्रको क्यालेन्डर अनुसार नियमित रक्तदान कार्यक्रम आयोजना गर्न सकेनौं भने केही दिनमै रक्त अभाव सृजना हुनेछ । अन्य ठाउँमा संक्रमण हुने डर भए, केन्द्रकै प्रांगणमा सुरक्षित तरिकाले कार्यक्रम आयोजना गर्न उनले जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology