`

कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु

पोखरा, १२ चैत– भारतको हैदराबादबाट केही समयअघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ ।
मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए । मृतकलाई मंगलाारदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार मृतक लामो समयदेखि मुटुको रोगी थिए । उनको कलेजोमा पानी जमेको उनले सुनाए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको थियो । मृतक मुटुको रोगी भए पनि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पो हो कि भन्ने हाम्रो प्रश्नमा डा. अर्जुन आचार्यले कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि नभएको बताए । ‘परिक्षणका लागि प्रदेश ल्याबमा पठाएका छौँ’, उनले भने,‘कोरोना नै भएको भनेर भन्न मिल्दैन । ल्याबको रिपोर्टपछि नै थाहा हुन्छ ।’
यता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापा भने प्रदेशमा कोरोना ल्याब टेष्ट मेसिन नभएको हुनाले काठमाडौं पठाउनु पर्ने बताउँछन् । ‘सरकारले हाम्रो प्रदेशलाई पनि टेस्ट मेसिन दिने निर्णय त गरेको छ’, उनले भने, ‘तर, आइसकेको छैन । कोरोना भएको हो कि होइन भनेर जाँच्न काठमाडौं मै पठाउनुपर्छ । लकडाउनले गर्दा पनि मेसिन आउन ढिला भइरहेको छ । सकेसम्म चाँडै आउँला मेसिन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology