`

अल्झेँ कहिँ त के भो ? बाटो भुलेको छैन !

हामी संकटमा छौँ, विश्व संकटमा छ अनि मानवीयतामाथि कोभिड–१९ को पेचिलो आक्रमण छ । सिंगो विश्व संक्रमणको चपेटामा पर्दा नेपाल कसरी पो अछुतो रहन्थ्यो र ? पर्याप्त तयार र सावधानीविना कोरोनाविरुद्धको युद्धमा होमिन हामी पनि बाध्य भयौँ । कोभिडको अघि नेपालले पनि घुँडा टेक्नु नै प¥यो । बुधबार मात्रै नेपालमा कोभिड संक्रमित तेस्रो व्यक्तिको ज्यान गयो । सरकारले अपनाएका सबै सुरक्षा प्रबन्धहरुलाई कोभिडले चुनौति दियो । दिने क्रम सुरु भएको छ । महाब्याधीको सामना गर्दै गर्दा अप्रिय समाचारहरु सुन्नु नपरोस् भन्ने हामी सबैको कामना हो । यद्यपि, सत्य तीतो हुन्छ र त्यही तीतोपनको महशुस गर्न हामी अभिशप्त छौँ ।
नेपालको अर्थतन्त्र सानो छ । सानो अर्थतन्त्रका आफ्नै विशेषता र बाध्यता हुन्छन् । समृद्ध नभएकै कारण हामी विदेशी भूमिमा पसिना बगाउन बाध्य छौँ । हामी आगोसँग खेल्छौँ । प्रचण्ड गर्मीमा पसिना चुहाउने, युद्धको मैदानमा रगत बगाउने सामथ्र्य राख्छौँ । अनि, त्यही सामथ्र्यबाट आर्जित सम्पत्ति लालाबालाको हातमुख जोर्ने माध्यम बनाउँछौँ ।समग्रमा हामी श्रमशक्ति निर्यात गर्छौँ र सपनाहरु भित्र्याउँछौँ । यी सपना भित्र्याउनेमध्ये केहीमा संक्रमण देखियो । डलर बोकेर आउनेहरुबाट पनि हामी नै असुरक्षित भयौँ । अन्ततःहामी कोरोना कहरमा परिहाल्यौँ । दोष कसैको थिएन र दिन मिल्दैन पनि । परदेशिएका नागरिकलाई घर नफर्क भन्ने नैतिकता हामीसँग थिएन र हुनुहुँदैन पनि । स्वदेश र आफन्तजनको मायाले तानिएकाहरुमध्ये धेरैजसो अहिले ‘सेल्फ क्वारेण्टाइन’मा भएका खवर सार्वजनिक भएका छन् । उहाँहरुले देखाएको त्यो संयमताको उच्च मूल्याङ्कन हुनैपर्छ ।
खयर, जहाँ जे भए पनि हामी तयारीमा केही चुक्यौँ । हामीले पर्याप्त सावधानि अपनाउन सकेनौँ । विश्वब्याधीलाई रोक्ने सामथ्र्यको विकास गर्न सकेनौँ । संक्रमण फैलिइहालेमा के गर्ने भन्ने पूर्वतयारी हुन सकेन । त्यसको परिणति अहिले देखिँदै छ । देश ‘बन्दाबन्दी’को अवस्थामा छ । बन्दाबन्दीको क्रमशः पूर्ण पालना हुँदै गएकोजस्तो देखिएको पनि छ । तर, ब्याधी पसेको अवस्थामासमेत हामीसँग ओखती, स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवचजस्ता सामग्रीको पर्याप्तता देखिएको छैन । विकसित र शक्तिसम्पन्न राष्ट्रहरुले नै यी सामानको अभाव झेलेका बेला सरकारलाई गाली गरेर मात्रै हुने केही होइन । यद्यपि, अन्तिममा गुहार माग्ने सरकारसँगै हो भन्नेमा पनि दुईमत छैन । सरकारले अबिलम्ब यी सामानको व्यवस्था गर्नुपर्छ । संकटको यो घडीमा घरमै सुरक्षित बस्नुको विकल्प जनतासँग छैन । अर्कोतर्फ, रोगको संक्रमण फैलिन नदिन र संक्रमितहरुलाई ठम्ठम्याँउदो अवस्थामा घर फर्काउने दायित्व सरकारसँगै छ । अतः संकटको यो भूमरीबाट पार पाउन सरकारले कम्तिमा अस्पताललाई र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षा सामग्रीको तत्काल व्यवस्था गर्नुूपर्ने देखिएको छ । बन्दाबन्दी कायम छ, यो लम्बिन सक्छ । लम्बिँदै जाँदा यसले मानवीय जीवनका अत्यावश्यक सामानहरु अभाव हुने सम्भावना पनि उत्तिकै छ । त्यतातर्फ पनि सरकारको ध्यान जानैपर्छ । विपत्को यो घडीमा नागरिकको दायित्व भनेको सरकारको अनुरोध पालना गर्ने र सक्दो फारु गर्दै दैेनिक जीवन चलाउने नै हो । महाब्याधीलाई परास्त गर्न सबै अस्त्रहरु प्रयोग गर्नु सरकारको जिम्मेवारी हो । हो, हामीले केही कमजोरी गरेका छौँ । तर, इश्वर बल्लभको शब्द तथा भक्तराज आचार्यको स्वर एवं संगीत भएको गीतजस्तै कतै अल्झे पनि बाटो भुलेका छैनौँ । हिँड्ने बाटो यही हो, लड्ने कोभिड–१९ सँग नै हो । यो अभियानमा हामी एक होऔँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology