`

कोराना कहर : सहकारीले उत्पादन गर्ने दुध ढुवानी रोकियो

बागलुङ, १३ चैत – कोरोना भाईरस (कोभिड–१९)को त्रास फैलिएसँगै बागलुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दुध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँचवटा दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँच सय लिटर दुध किसानकै घरमा रोकीएको हो । नेपाल सरकारले देशनै लकडाउन घोषणा गरेसँगै दुधको ढुवानी रोकीएको हो ।
सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दुध किसानकै घरमा रोकीएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताए । अमलाचौरको कालीगण्डकी, नवनमुना, बानपा–१४ को नारायणस्थान, जैमिनी नगरपालिकाको पल्लोपाखा र जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले उक्त दुध उत्पादन गर्दै आएका थिए ।
‘कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सवारी चालकहरु पनि डराए’ शर्माले भने ‘हामीले पनि गर्नैपर्छ भन्न सकेनौं ।’ त्रास कम हुने समयसम्म किसानलाई घरमै खुवा (कुराउनी), पनिर लगायतका उत्पादन गर्न भनेको उनले बताए । दुध उत्पादन गर्दै आएका किसानले भने गाईभैसीलाई नै दुध खुवाउनु पर्ने अवस्था आएको बताएका छन् ।
पल्लोपाखा, नवनमुना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दुध संकलन गरेर बिक्री गर्दै आएका थिएभने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो । चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको १ हजार लिटर दुध र जैमिनीले उत्पादन गर्ने ५ सय लिटर दुध गाउँमै रोकीएको हो । दुध रोकीएसँगै किसानले दाना चापटको प्रबन्ध गर्न समेत कठिन हुने बताएका छन् । ‘दुध बिक्री हुन्थ्यो र पो दाना खुवाउन सकिन्थ्यो’ किसान क्षमकला शर्माले भनिन् ‘दुध नबिक्दा नत दाना किन्ने स्रोत हुन्छ, न दाना ल्याउने सवारीनै चलेका छन् ।’
व्यवसायीक रुपमा दुधको उत्पादन थालेका किसानलाई ऋणको किस्ता तिर्न समेत कठिन हुने उनीहरुको गुनासो छ । ‘ऋण खोजी गाई किनेर पालिएको छ, दुध बिके किस्ता तिर्ने स्रोत बन्छ’ अर्का किसान हेमराज शर्मा भन्छन् ‘गाईभैसीलाई खुवाएको दुधबाट के प्रतिफलको आश गर्नु ।’ अत्यावश्यक वस्तु भएकाले आवश्यक सुरक्षाको प्रबन्ध गरेर दुध ढुवानी रोक्न नहुने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology