`

संक्रमित युवती चढेको क्यूआर ६५२ विमानमा ४० जिल्लाका यात्रु

  • गण्डकी प्रदेशमा बागलुङका ४ जना, स्याङजाका ५ जना, नवलपुरका २, तनहुँ, गोरखा र कास्कीका एक एक जना रहेका छन ।
  • पोखरा, १३ चैत – फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी संक्रमित पुष्टि भएकी किशोरी चढेको विमान क्यूआर ६५२ मा सवारमध्ये १ सय ९ जना ४० जिल्लाका नागरिक भएको पुष्टि भएको छ । गण्डकी प्रदेशमा बागलुङका ४ जना, स्याङजाका ५ जना, नवलपुरका २ र तनहुँ, गोरखा र कास्कीका एक एक जना रहेका छन ।
    पूर्वको झापादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका यात्रु उक्त विमानमा सवार थिए । १ सय ५८ यात्रु सवार विमानमा एक फ्रेन्च, दुई जर्मन र दुई भारतीय थिए । अन्य ४४ जना नेपाली कुन जिल्लाका थिए भन्ने खुल्न सकेको छैन ।
    ढोरपाटनलाई प्राप्त कागजातका आधारमा संक्रमित युवती सवार विमानमा सबैभन्दा धेरै अर्थात् २७ यात्रु प्रदेश २ का थिए । यो प्रदेशअन्तर्गतका महोत्तरीका ११, सर्लाहीका ४, धनुषाका ९, सप्तरीका २ र बाराका १ जना छन् । एकाधबाहेक उक्त विमानमा सवार अधिकांश यात्रु वैदेशिक रोजगारीबाट फर्किएका कामदार रहेको बुझिएको छ ।
    उक्त विमानमा सवार सबै यात्रुमा संक्रमणको जोखिम रहनसक्ने भएकाले ती यात्रुहरु सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र स्वास्थ्य समस्या देखिए जाँच गराइहाल्नुपर्ने हुन्छ । तर संक्रमणको पुष्टि भएको तेस्रो दिन भइसक्दा पनि उक्त विमानमा सवार सबै यात्रुसँग सरकारी सम्पर्क हुन सकेको छैन । प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले उक्त विमानमा आएकामध्ये १३ जना आइसोलेसनमा बसेको थाहा भएको र अरूको खोजी भइरहेको बताए । प्रहरी प्रधान कार्यालयले उनीहरुको अवस्था बुझ्न मंगलबार देशैभरका जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology